१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

असोजमा बर्षाको च्यालेन्ज, दसैंमा पानी पर्ला कि नपर्ला ?



काठमाडौं ।
आज (सोमबार)देखि क्रमशः मौसममा सुधार हुँदै गएको मौसमविद्ले बताएका छन् । मौसम पूर्ण सफा नभए पनि तुलनात्मक रूपमा आजदेखि मौसम सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठको अनुमान छ ।
केही स्थानमा हल्का वर्षा भए पनि आगामी तीन दिनसम्म देशका धेरै स्थानमा पानी पर्ने सम्भावना नरहेको उनले बताए ।
दसैंमा मौसम कस्तो रहला भन्ने प्रश्नमा मौसमविद् श्रेष्ठले मौसम पूर्वानुमान महाशाखाले सामान्यतया ७२ घण्टा अर्थात् तीन दिनसम्मको मौसम मात्र अनुमान गर्ने भएकाले त्यसभन्दा पछिको अवस्था पछि नै भन्न सकिने बताए ।
‘हामी ७२ घण्टा अर्थात् तीन दिनसम्मको मौसम अनुमान गर्छाैं, यो तीन दिनचाहिँ खासै पानी पर्ने देखिन्न, पूर्वमा पानी पारिरहेको प्रणाली पनि कमजोर बन्दै छ,’ मौसमविद् श्रेष्ठले भने, ‘दसैं (फूलपाती) आउन त अझै ९ दिन छ, मनसुन गइसकेको छैन, त्यसैले वर्षाको सम्भावना भने हुन्छ ।’
मौसमविद्का अनुसार भारतको गुजरात र अरब सागर आसपासमा रहेको न्यून चापीय प्रणाली अवदाबमा परिवर्तन भएको छ । भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको असर नेपालको पूर्वी र मध्य भूभागमा छ । यी दुई प्रणालीका कारण नेपालमा बंगालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा आइरहेको छ । सोही कारण नेपालमा मौसम बदली र वर्षा भइरहेको मौसमविद्को भनाइ छ ।
साविकअनुसार यस वर्षको मनसुनको समय अवधि सकिएको एक हप्ता भइसकेको छ । तर मनसुन सक्रिय गराउने न्यून चापीय रेखा अझै नेपाल आसपास नै रहेकाले मनसुन चक्रको अन्त्य भने नभएको मौसमविद्ले बताएका छन् ।
सामान्यतया नेपालमा जुन १० तारिखमा मनसुन भित्रिने र सेप्टेम्बर २३ मा बाहिरिने गर्छ। तर केही वर्षदेखि मनसुनी गतिविधिमा फेरबदल आइरहेको छ । नेपाल लगायतका देशमा मनसुनी गतिविधि ढिलो सुरु हुने र पछिसम्म कायम रहने क्रम बढ्दै गएको मौसमविद्को भनाइ छ ।

आजको अवस्था

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पूर्व र मध्य भूभागमा सामान्यदेखि पूर्णतया बदली रही पूर्वका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
मौसमविद् समीर श्रेष्ठका अनुसार आज दिउँसो पूर्व र मध्यका केही स्थानमा हल्का वर्षाको सम्भावना छ तर ठूलो पानी पर्ने सम्भावना छैन ।

प्रकाशित मिति : १३ आश्विन २०७६ सोमबार ००:००  ९ : ४५ बजे