८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

गण्डक अस्पतालबाट २१ जना कोरोनामुक्त



वीरगञ्ज ।
पर्सामा थप २१ जना कोभिड–१९ संक्रमित उपचारपछि कोरोना भाइरसमुक्त भएका छन् । नारायणी कोभिड अस्पतालकै शाखाको रुपमा सञ्चालित गण्डक अस्पतालमा उपचाररत २१ संक्रमित कोरोनामुक्त भएका हुन् । उनीहरुलाई राति नै डिस्चार्ज गरिएको छ ।

गण्डक अस्पतालबाट डिस्चार्ज भएकाहरुलाई वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी र स्वास्थ्यकर्मीहरुले फूल दिएर विदाई गरेका थिए ।

लगातार दुई वटा पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएकाले उनीहरुलाई डिस्चार्ज गरिएको डा. उदय नारायण सिंहले जानकारी दिए । ६ महिलासहित ३० जना संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गरिएकोमा अस्पतालमा अब ९ जना संक्रमित उपचाररत छन् ।

यसअघि नारायणी अस्पतालमा भर्ना ७२ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । आइतबार १८ जना र सोमबार ४३ जना डिस्चार्ज भएका थिए ।

पर्सामा ३ हजार ८० जनाको थ्रोट स्वाब नमुना संकलन गरी परीक्षणका लागि पठाइएकोमा २९ सय ५५ जनाको रिपोर्ट आइसकेको छ । मंगलबार १ सय जनाको नमुना संकलन गरिएको छ ।

कोरोना संक्रमितको उपचारको लागि पर्सामा एक सय २८ बेड क्षमताको आइसोलेसन बेड रहेकोमा ७० बेड क्षमताको नारायणी अस्पताल खाली छ । कोरोना संक्रमित डिस्चार्ज भएपछि जनरल सेवा सञ्चालन गर्ने उद्देश्यले मंगलबार स्यानिटाइजेसन गरिएको छ । गण्डक कोरोना विशेष अस्पतालमा ५० र पोखरिया नगरपालिकामा ८ बेडको आइसोलेसन छ । हालसम्म आरडीटी टेस्ट २ हजार ४ सय ६६ जनाको गरिएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७ बुधबार ००:००  ८ : ५२ बजे