८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

वाणगंगाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीको विदाई



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तु वाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीलाई नगरपालिकाले मंगलबार विदाई गरेको छ । नगरबाट युवा तथा खेलकुद मन्त्रालयमा सरुवा हुनुभएका पन्थीलाई नगरपालिकाले औपचारिक विदाई गरेको हो ।

गत माघ महिनामा वाणगंगामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर हुनु आउनुभएका उहाँ हालै मात्र मन्त्रालयमा सरुवा भई जानुभएको हो ।

वाणगंगामा उहाँ आएसंगै कोरोना भाइरसको संक्रमण देखा परेको थियो । कोरोना नियन्त्रणमा उहाँले खेल्नुभएको भूमिका प्रशंसनीय थियो । कोरोनाले समग्र विकास निर्माणमा प्रभाव पारेको भएपनि उहाँले लकडाउन खुलेसंगै आव ०७६÷०७७ का योजना कार्यान्वयनमा लाग्नुभएको थियो ।

बजेट खर्चमा प्रदेशमै अग्रस्थानमा देखिएको वाणगंगाले कोरोनाकै कारण राम्रो प्रगति देखाएको थियो । चालु आवमा पनि पन्थीले कयौं महत्वपूर्ण ठेक्का लगाइसक्नुभएको छ । चालु आवको चार महिनामा उहाँले खेल्नुभएको भूमिका राम्रो देखिएको नगरपालिकाले जनाएको छ ।

आफु स्थानीय तहबाट युवा तथा खेलकुद मन्त्रालयममा सरुवा भई जान लागेको पन्थीले मायादेवी अनलाइनलाई बताउनुभयो । वाणगंगामा आफु रहदा सबै पक्षबाट राम्रो सहयोग मिलेको उहाँले बताउनुभयो । नगरका जनप्रतिनिधि, पत्रकार र सरोकारवालासंग मिलेर काम भएको भन्दै उहाँले विशेष कारणले मन्त्रालयमा सरुवा भएको बताउनुभयो । वाणगंगाको बसाई छोटो भएपनि कुनै कारणले भन्दा पनि सबैको सल्लाह बमोजिम सरुवा भएको उहाँले बताउनुभयो । सरुवामा कुनै शंका गर्नुपर्ने ठाउँ नभएको उहाँले जनाउनुभयो ।

नगरबाट पन्थीको विदाई कार्यक्रममा नगर प्रमुख मंगल प्रसाद थारु, उपप्रमुख चक्रपाणी अर्याल, शिक्षा शाखा प्रमुख बाबुराम भट्टराई, शिक्षा शाखा अधिकृत खिम बहादुर जिसी, प्रशासकीय अधिकृत केशव भट्टराई लगायतको उपस्थिती रहेको थियो ।

वाणगंगामा अब नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा गेहेन्द्र डागी आउने चर्चा छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७७ मंगलबार ००:००  ५ : १३ बजे