१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

तिहारमा के खाने ? के नखाने ?



एजेन्सी ।
तिहारमा के खाने ? के नखाने ? भन्दा यसका दुई वटा पाटा हुन्छन् । स्वस्थ मानिसले के खाने ?बिरामीले के खाने ? भन्ने हुन्छ ।

शाकाहारीले घ्यू, तेल र मिठाइहरू तिहारमा धेरै खान्छन् भने मासु खानेहरूले अरू खानेकुराभन्दा मासुलाई नै बढी प्राथमिकता दिने गर्छन् । अन्य समयमाभन्दा चाडपर्वमा खसीको मासु बढी खाने गर्छन् । कतिपयले रक्सी पनि खान्छन् । तिहारमा भाइमसलाको प्रयोग पनि बढी हुन्छ । मासु,चिल्लो, गुलियो र मसलेदार खानाको प्रयोग कम गर्नुपर्छ । खाँदै नखाने भन्ने पनि हुँदैन ।

चाडपर्व भनेकै मिठो खाने, राम्रो लगाउन र रमाइलो गर्ने भने बुझ्ने गरिन्छ । यो धेरै हदसम्म सत्य पनि हो । यो हाम्रो परम्परा पनि हो यसलाई छोड्न पनि मिलेन तर कम गरेर खानुपर्छ।

बिरामीले भने चाडपर्वमा अलि बढी नै ध्यान दिनुपर्छ । सुगर, प्रेसर र मुटुको बिरामीहरूले चिल्लो, नुनिलो र मसलेदार खाना खानु हुँदैन । त्यसैले यसलाई कम गर्नुपर्छ । प्रेसर र मुटुका रोगीले नुनको प्रयोग कम गर्नुपर्छ अनि सुगरका बिरामीले चिनी हालेको खाना खानु हुँदैन।

बच्चाहरूको हकमा पनि खाने कुरामा अलि बढी होसियारी अपनाउनुपर्छ । यो बेलामा उनीहरूले पटका पड्काउने, लगायतका काम गर्छन् । यस्ता चिजहरूमा विष सरहका एसीडहरू हुन्छन् । त्यही हातले खाना खाइरहेका हुन्छन् । उनीहरूको सरसफाईमा अझै बढी ध्यान दिनुपर्छ।

तिहारमा सेलरोटी, मिठाई लगायतका गुलियो र चिल्लो मिसाइएको खानेकुरा खाने प्रचलन धेरै छ । सकभर घ्यू र परम्परागत तेलहरूमा पकाएको खानेकुरा खानु हुँदैन । संभव भएसम्म सनफ्ल्वार, मकै र भट्टमासको तेलको प्रयोग गर्नुपर्छ । घ्यूमा ‘सेचुरेटेड फ्याट’ बढी हुन्छ। घ्यूले शक्ति बढी दिन्छ तर दिर्घकालीन रुपमा यसले हानी पुर्‍याउँछ। साधारण मानिसलाईभन्दा मुटु, प्रेसर र सुगरको रोगीलाई यसले हानी गर्छ।

चाडपर्वको बेलामा हरियो तरकारी र फलफूल बढी खानुपर्छ । चाडपर्वको ‘मूडमा’ हुँदा नियमित खाने औषधि पनि छोड्ने गरिन्छ । यो एकदमै गलत हो । यसले गर्दा कतिपय समस्याहरू निम्तिने गरेका छन् । चाडपर्वको बेलामा दीर्घ रोगीहरूले औषधिलाई छोड्न हुँदैन । एक आपसमा भेट्दा मिठाई मासुको सट्टामा फलफूल दिने चलन बसाल्नुपर्छ। यसलाई भारत र अमेरीकामा अभियानकै रुपमा पनि चलाइएको थियो।

चाडपर्वको बेलामा व्यायाम बढी गर्नुपर्छ

चाडपर्वको बेलामा धेरै चिल्लो गुलियो खाना खाने गरिन्छ। जसले गर्दा शरीरलाई हानी पुग्छ । यो बेलामा व्यायाममा ध्यान दिनुपर्छ । बढी व्यायाम गर्‍यो भने खाएको खानेकुरा सन्तुलन बन्न पुग्छ । चाडपर्वको बेलामा खाने अनि आराम गर्ने भन्ने चलन छ जुन स्वास्थ्यका लागि गलत हो। आराम गर्ने, परिवार मिलेर रमाइलो गर्ने त राम्रो हो तर योसँगै स्वास्थ्यलाई पनि ध्यान दिन जरूरी छ। शारीरिक गतिविधिमा पनि ध्यान दिनुपर्छ ।

रक्सी खान हुन्छ की हुँदैन ?

रक्सी खान हुन्छ कि हुँदैन भन्नेमा सधैँ अन्यौलता छ । रक्सी सकेसम्म नखाएकै राम्रो हो । स्वस्थ व्यक्तिले न्यूनतम मात्रामा रक्सी खान सक्छ तर न्यूनतम भनेको कति हो ? भन्ने कुनै निर्धारण भएको छैन । अनुसन्धानले रक्सीले हानी नै गर्छ भनेको छैन तर स्वास्थ्यका लागि लाभदायक हुन्छ भनेर पनि प्रमाणित गर्न सकेको छैन । रक्सीको बेफाइदा नै बढी छ । बढी मात्रामा रक्सी सेवन गरेमा यसले पेनक्रियाज बिगार्छ जसले गर्दा ‘सुगर’को समस्या हुन्छ । यसका साथै, कलेजो बिगार्छ, पेटमा घाउ हुन्छ, रक्तश्राव हुन्छ र दिसामा रगतसमेत देखिन्छ ।

भाई मसला स्वास्थ्यका लागि फाइदाजनक

तिहारको बेलामा प्रयोग हुने भाई मसला स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । भाई मसलामा केही मात्रामा चिल्लो पदार्थ हुने भएपनि समग्रमा यसले स्वास्थ्यलाई हानी गर्दैन । सेलरोटी मासु लगायतका खानेकुरा भन्दा बढी भाईमसला स्वास्थ्यका लागि उपयुक्त छ । काजु, बदाम, नरिवल, किसमिस, बदाम लगायतका खानेकुराहरूमा शरीरका लागि चाहिने भिटामिन, मिनरलस लगायतका तत्वहरू पाइन्छ ।

प्रकाशित मिति : १ मंसिर २०७७ सोमबार ००:००  ६ : ३९ बजे