७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कक्षा १२ को परीक्षाको सबै तयारी पूराः परीक्षा स्थगित हुने हल्लामा नलाग्न आग्रह



काठमाण्डौ ।

कक्षा १२ को परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कक्षा १२ को परीक्षा पर्सि मंगलबारदेखि सुरु हुँदैछ । बोर्डका सदस्य सचिव दुर्गा अर्यालले सबै विद्यालयमा उत्तर पुस्तिका पुर्याउने, प्रश्नपत्र तयार गर्ने, केन्द्राध्यक्षलाई तालिम दिने, स्वास्थ्य मापदण्डअनुसारको परीक्षा मापदण्ड तयार गर्नेसहित सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।

बोर्डले केही परीक्षा केन्द्रमा प्रश्नपत्र पठाइसकिएको छ भने नजिकका परीक्षा केन्द्रमा अनलाइनको माध्यमबाट परीक्षा सञ्चालन हुनुभन्दा आधा घण्टा अगाडि प्रश्नपत्र पठाइने व्यवस्था मिलाइएको छ । परीक्षा स्थगित हुने हल्लामा नलाग्न पनि उहाँले आग्रह गर्नुभएको छ । अहिलेसम्मको अवस्थामा परीक्षा स्थगित हुने कुनै पनि सम्भावना नरहेको बोर्डका सदस्य सचिव अर्यालले बताउनुभयो ।

उहाँका अनुसार विद्यार्थीको चाहनाअनुसार होम सेन्टरमै परीक्षा सञ्चालन हुनेछ । कोरोना सङ्क्रमण भएका र परीक्षामा बस्न नसक्ने परीक्षार्थीलाई अर्को परीक्षा सञ्चालन गरिनेछ । कोरोना सङ्क्रमण पुष्टि भएर पनि परीक्षामा बस्न सक्ने विद्यार्थीका लागि भने छुट्टै स्थानको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७७ आइतबार ००:००  १० : २२ बजे