२० माघ २०८२, मंगलबार | Wed Feb 4 2026

आतंककारी हमलामा मारिए भारतीय सेनामा कार्यरत एक नेपाली



दाङ ।
दाङ तुलसीपुर घर भई भारतीय सेनामा कार्यरत एक युवाको आतंककारी हमलामा परी मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवाका ३० वर्षीय प्रेम केसीको आतंककारी हमला परी मृत्यु भएको हो ।

जम्मु कास्मिरमा कार्यरत केसीको समूहमाथि शुक्रबार बिहान ५ बजेतिर हमला भएको र अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको जानकारी दिइएको छ ।

प्रेमका दाजु तुलसी केसीले बिहान ९ बजेतिर भारतीय सेनाले घर परिवारलाई फोन गरी गोली लागेको भनेर खबर दिएको थियो। तर परिवारका सदस्यले उनका साथीहरूलाई बुझ्दा मृत्यु भइसकेको भन्ने जानकारी दिएका थिए।

‘प्रेम मेरो अंकलको छोरा हो,’ तुलसीले भने, ‘आतंककारी हमलामा भाइसँगै भारतीय अर्का एक सैनिकको पनि मृत्यु भएको रहेछ ।’ भाइको शव लिनका लागि घरबाट उनका बुवा लालबहादुर केसी भारत हिँडिसकेका छन् । शव शनिबारसम्म आइपुग्ने तुलसीले बताए ।

प्रेमका बुवा लालबहादुर पनि रिटायर्ड भारतीय सेना हुन् । प्रेमले भारतीय सेनामा जागिर खाएको १४ वर्ष पुगेको थियो । प्रेमका ७ वर्षीया छोरी र ५ वर्ष छोरा छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७७ शुक्रबार ००:००  ६ : १८ बजे