१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नियम बिपरित तेल बेच्ने कपिलवस्तुका दुई पेट्रोल पम्प सिल



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तु नगरपालिका भित्रका दुई पेट्रोलपम्प सिल गरिएको छ । नियम बिपरित काम गरेको भन्दै कपिलवस्तु नगरपालिका– ३ स्थित चिन्नीलाल कान्दु पेट्रोलपम्प तथा वडा नम्बर नं. ५ डंगरीस्थित आदिशक्ति माता आयल सप्लायर्स पेट्रोलपम्प सिल गरिएको हो ।

आयल निगमको केन्द्रिय कार्यालयबाट खटिएको अनुगमन टोलीले निरिक्षणका क्रममा अनियमित काम गरेको भेटेपछि पम्पलाई सिलबन्दी गरिएको आयल निगमको लुम्बिनी प्रादेशिक कार्यालय भलवारीका सूचना अधिकृत रमेश ज्ञवालीले बताए ।

चिन्नीलाल कान्दु पेट्रोल पम्पले अनुमति नलिई पेट्रोल बेचेको पाइएकाले पम्पलाई सिल गरेर बन्द गरिएको हो । आयल निगमको केन्द्रिय कार्यालय र लुम्बिनी प्रादेशिक कार्यालयको संयुक्त टोलीले आकस्मिक अनुगमन गर्दा इजाजत नलिई पेट्रोल बेचेर गैरकानुनी काम गरेको पाइएकाले कार्यवाहीका लागि पम्प सिल गरिएको प्रजिअ दीर्घनारायण पौडेलले बताए ।

चिन्नीलाल पम्पलाई कपिलवस्तु नगरपालिका वडा नंं ५, डंगरीस्थित आदिशक्ति माता आयल सप्लायर्स पेट्रोल पम्पको पेट्रोल बेचेकाले आदिशक्ति माता पम्पलाई पनि सिल गरिएको छ । कान्दु पेट्रोल पम्पलाई ४ हजार ५०९ लिटर पेट्रोल आदिशक्तीले उपलब्ध गराएको अनुगमनका क्रममा देखिएको थियो ।

इजाजत बिनै पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको देखिएपछि निगमको पेट्रोलियम पदार्थ बिक्रेता नियमावली २०७५ को दफा २९ (ग) कारबाही गरिने प्रजिअ पौडेलले बताए । चिन्नीलाल पेट्रोल पम्पले २०६९ साल देखि आयल निगमबाट पेट्रोल नकिनेको आयल निगम श्रोतले बताएको छ । डिजेल बिक्री गर्न भनि चिन्नीलाल पेट्रोल पम्पलाई अनुमती दिइएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७७ शुक्रबार ००:००  ६ : ५४ बजे