१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मंसिर १५ गतेदेखि नन्दनगरमा नवकुण्डिय महायज्ञ, यसकारण अरुभन्दा फरक !



मायादेवी अनलाइन, चार नम्बर ।

कपिलवस्तुकै सबैभन्दा पवित्र धार्मिक तथा पर्यटकीय स्थल बाणगंगा २ नन्दनगरमा नवकुण्डिय महायज्ञ तथा २६ औँ अनुष्ठान हुने भएको छ । हरेक बर्ष जस्तै यस पटक पनि मनकामना संस्कृत विद्यापीठ तथा गुरुकुलमको आयोजनामा महायज्ञ गर्न लागिएको हो ।

गत बर्ष वैवर्त महापुराण गरिएकोमा यस बर्ष भने मंसिर १५ गतेदेखि २२ गतेसम्म ‘श्रीमद् ब्रहम्म पुराण महाअनुष्ठान प्रवपुराण नवकुण्डिय महारुद्री हवनात्मक धन धान्यञ्चल महाआरती तथा २६ औँ पंचमहायज्ञ’ गर्न लागिएको यज्ञ मूल आयोजक समितिका अध्यक्ष खिमानन्द घिमिरेले जानकारी दिनुभयो ।

आश्रममा रहेको मनकामना संस्कृत विद्यापीठ तथा गुरुकुलम्को सहयोगार्थ श्री ब्रहम्मनिष्ठ तत्वदर्शी १००८ स्वामी लोकानन्द स्वामीको सानिध्यतामा महायज्ञ हुन लागेको घिमिरेले मायादेवीसंग बताउनु भयो ।

यसको लागि एउटा मूल समिति र १५ वटा उपसमिति बनाइएको छ । ती समितिहरुले अहिले निर्माण, सरसफाई, सरसजावट, प्रचारप्रसार लगायतका कामहरु गरिरहेको छ । अहिले यज्ञ स्थलमा डोजरले माटो पट्याउने, सम्याउने, रंगरोगन गर्ने लगायतका काम भइरहेको घिमिरेले बताउनु भयो ।

कोरोना महामारीकाबीच पनि यस महायज्ञलाई यस पटक प्राकृतिक ढंगबाट संचालन गर्न लागिएको ब्रहमनिष्ठ स्वामी लोकानन्द महाराजले बताउनु भएको छ । महायज्ञको लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले पर्सी विहान ११ बजे उद्घाटन गर्नु हुने छ । यज्ञ हुने मितिसम्म आश्रमलाई सिंगारेर चिटिक्क पारिने आयोजकको भनाई छ ।

यसपटक श्रद्धालु भक्तजनले महायज्ञमा जम्मा भएर नगद सहयोग गर्न पर्दैन स्वामी लोकानन्दले भन्नुभयो ‘ महायज्ञस्थलसम्म आउन सक्ने आउनुहुन्छ, नसक्नेहरुले सामाजिक संजाल (फेसबुक, युटुभ) मा घरघरमा लाइभ हेरेर धान, चामल र आर्थिक सहयोग गर्न सक्नु हुनेछ । त्यसको लागि आयोजकका सदस्य र बटुकहरु घरघमा आउने छन् ।’

कोरोनाले गर्दा धेरैका मनहरु भाँचिएको, बाँडिएको, एकत्रित नभएको, विश्रृङखलित भएको कारण दिनभर धार्मिक प्रवचन सुनेर आनन्द र शान्ति छर्नु पनि महायज्ञको अर्को उदेश्य हो स्वामी लोकानन्दले भन्नुभयो, यसकारण पनि यो महायज्ञ विशेष छ । सबैजना आउनु होला ।

महायज्ञ अवधिभर प्रसिद्ध पंडित विष्णु ज्ञवालीले प्रवचन दिनु हुने छ भने स्वामी लोकानन्द स्वामीले दार्शनिक प्रवचन र शुभाषिस दिनु हुने छ । देश विदेशका सन्त महापुरुषहरुले पनि विशेष वचनामृत प्रवचन दिने यज्ञको प्रचार प्रसारको काम पनि अन्तिम चरणमा पुगेको प्रचार प्रसार समितिका संयोजक चन्द्रकान्त न्यौपानेले बताउनु भयो ।

आश्रममा ९० बटुक र ३० शिक्षक कर्मचारी आवासिय रहेको हुँदा खर्च जुटाउन हम्यहम्य भएको छ । मूलतः त्यसैको लागि यो यज्ञ गर्न लागिएको स्वामीले बताउनु भयो । उहाँका अनुसार महायज्ञबाट १ हजार क्विन्टल चामल र ५ सय क्विन्टल धान संकलन गर्ने लक्ष्य राखिएको छ । त्यसबाट १ सय २० जनाको लागि दैनिक ३ पटकको भण्डारामा सहयोग पुग्ने छ । गुरुकुलम संचालन गर्न धेरै खर्च हुने गरेका कारण त्यहाँ खर्च जुटाउन प्रत्येक बर्ष महायज्ञ र पुराण हुने गर्दछ ।


महायज्ञका मूल कार्यक्रमहरु र आकर्षणहरु

आकर्षक प्राकृतिक दृश्य
धनधान्यञ्चल महापर्व र विशेष आकर्षण
नवकुण्डमा ३० ब्रहाम्णबाट दैनिक ध्वनात्मक महायज्ञ
प्रातकालमा महारुद्री
सन्ध्या महाआरती
दीप प्रज्वलन, व्रतबन्ध लगायतका पुनित कर्महरु

प्रकाशित मिति : १३ मंसिर २०७७ शनिबार ००:००  ६ : ५५ बजे