१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

बरघर प्रथालाई बारबर्दिया नगरपालिकाले मान्यता दियो



बर्दिया ।
पश्चिम नेपालका थारु समुदायमा प्रथाजनित सङ्गठन, बरघर प्रथा छ । गाउँ सञ्चालन गर्ने अर्थात गाउँको नेतृत्व गर्ने व्यक्तिलाइ बरघर भनिन्छ । विकास, निमार्णदेखि आफ्नो गाउँको न्याय निसाफको काम समेत गर्ने उनीहरुले सरकारसंग आधिकारिकता मागिरहेका छन् ।

बर्दियाको बारबर्दिया नगरपालिकाले भने बरघर प्रथालाइ मान्यता दिएको छ ।थारु समुदायमा माघको २ गते देखी समुदायको अनुकुलता अनुसार खोज्नीबोझ्नी अथवा ग्रामसभा बस्छ । खोज्नीबोझ्नीमा बर्षभरी गरीएको कामको समिक्षा र आगामी बर्षकालागि योजना बनाइन्छ ।बरघर, लिखन्डार, चौकीदार, चीरक्या, अगह्वा, गुर्वा, लोहार छानिने गरेको बारबर्दिया ३ खुरखुरे गाउँका बरघर बृखबहादुर सुनार बताउँनुहुन्छ ।

बरघरले आफ्नो क्षेत्र र समुदायको बिकासको लागि काम गर्छन् । तर उनीहरुलाइ सरकारले मान्यता दिएको छैन । आफुहरुको कामको कानुनी मान्यता हुनुपर्ने बरघर समुदायको मागलाइ बर्दियाको बारबर्दिया नगरपालिकाले भने सम्बोधन गरेको छ । नगरभित्र रहेका बडघर संस्था परिचालन गर्न बनेको ऐन २०७७ पारित गरेर उनीहरुलाइ कानुनी मान्यता दिएको बारबर्दिया नगर प्रमुख दुर्गाबहादुर थारु बताउँनुहुन्छ ।

नगरपालिकाले मान्यता दिएपछि बरघरहरु खुशी भएका छन् । कानुनी मान्यता पाएसंगै आफुहरुको काम गर्ने हौसला अझ बढेको बारबर्दिया नगरस्तरिय बरघर संजालका बरघर रामसोहन थारुले बताउनुभयो । बर्दियामा मात्र लगभग ३ सय बरघर छन् ।

बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङमा बसोबास गर्ने थारु समुदायमा प्रचलनमा रहेका बरघरले न्याय निरुपणको कामसमेत गर्दै आएका छन् । सरकारी मान्यता पाए काम गर्ने हौसला अझ बढ्ने उनीहरू बताउँछन् ।

प्रकाशित मिति : ८ माघ २०७७ बिहिबार ००:००  ३ : १७ बजे