वाणगंगाका मेयर भन्छन्ः आगामी बजेटमा युवालाई प्राथमिकता


मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले नगरपालिकाले युवाहरुको लागि विशेष बजेट तथा कार्यक्रम ल्याएको बताउनुभएको छ ।

कोरोनाबाट प्रभावित युवाका लागि पनि नगरिपालिकाले विशेष प्याकेज ल्याएको बताउनुभयो । आइएफइएस् र नेपाल युवा संस्था संजाल (आयोन) को सहकार्यमा संचालित सुशासनका लागि युवा कार्यक्रम अन्र्तगत मंगलबार आयोजना गरिएको सरोकारवाला बीच भर्चुअल संवाद कार्यक्रमका बक्ता मेयर थारुले सो कुरा बताउनुभएको हो ।

बेरोजगारीले गर्दा निम्तिएका विभिन्न समस्यालाई मध्यनजर गर्दै युवा लक्षित कार्यक्रम आयोजना गरिने भन्दै नगरपालिकाले प्रदान गर्ने त्यस्ता कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै जिल्ला निर्वाचन कार्यालयका प्रमुख ज्ञानुराम पन्थीले निर्वाचनमा हुने मत बदरलाई कम गर्नका लागि मतदाता शिक्षा, निर्वाचन शिक्षा लगायतका कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्ने बताउनुभयो ।

उहाँले आयोन जस्तो संस्थासँग पनि आफुहरुले समन्वय गरेर कार्यक्रम गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ । सहभागीहरुले सोधेको जिज्ञासाको जवाफमा जिल्ला निर्वाचन अधिकारीले भन्नुभयो, ‘आगामी निर्वाचनका बेला मतदाता शिक्षालाईलाई प्रभावकारी बनाउन मतदाता शिक्षा कार्यकर्ताहरुलाई सबै टोल र घर घरमा पुग्ने गरी स्थानीय भाषी र युवाहरुलाई परिचालन गर्ने योजना बनाएका छौं ।’

निर्वाचनलाई निष्पक्ष र भय रहित बनाउन राजनीतिक दल, पत्रकार, संघ संस्था र सरोकारवाला सबैसँग बसेर छलफल गर्ने र आचार संहितालाई कडाईका साथ लागु गरिने जानकारी दिनुभयो ।
कार्यक्रममा बुद्धभूमि नगरपालिका योजना शाखा प्रमुख नविन खनालले युवाहरुलाई रोजगार, स्वरोगार र आयआर्जन तर्फ उन्मुख गराउन सके देशको अर्थतन्त्र बलियो हुने भन्दै स्थानीय तहले पनि त्यस्ता कार्यक्रमहरु ल्याउनुपर्ने बताउनुभयो ।

यस्तै महिला नेतृ गीता भुसालले राजनीतिमा युवा सहभागिता, युवा परिचालन भएपनि युवाहरुलाई नेतृत्व नदिनु बिडम्बना भएको बताउनुभयो । अब युवाहरु नै सक्रिय भएर नेतृत्व लिनुपर्ने बताउनुभयो ।

वाणगंगा नगर कार्यपालिका सदस्य समेत रहनुभएकी भुसालले कोरोनाको समयमा वाणगंगा नगरपालिकाले विभिन्न कामहरु गरेको बताउनुभयो । गत वर्ष क्वारेन्टाइनहरुमा महिला मार्थि विभिन्न घटना घटेको भएपनि कपिलवस्तुमा त्यस्तो कुनै घटना नघटेको बताउनुभयो ।

नगरपालिकामा रहेका कोरोना संक्रमितको लागि विभिन्न संघसंस्थाले काम गरेकोमा धन्यवाद दिदैँ आगामी दिनमा नगरपालिकासंग सहकार्य गरेर कार्यक्रम गर्न आग्रह गर्नुभयो ।

कार्यक्रम बोल्दै नेपाल पत्रकार महासंघ कपिलवस्तुमा सचिव जानु पाण्डेले कुनैपनि समाचारलाई राजनैतिक रंग दिन नहुने बताउनुभयो । उहाँले सामाजिक संजाल, अनलाइन मिडिया, छापा तथा एफएम रेडियोहरुले सही र सत्य सथ्य सूचना प्रकाशन तथा प्रशासरण गर्नुपर्ने बताउनुभयो साथै अहिले मिडियामा युवाहरुको आकर्षण बढ्दै गएकाले उनीलाई व्यवसायिक बन्न आग्रह गरेका छन् ।

कार्यक्रममा सहभागीका तर्फबाट सागर पौडेल, थानेश्वर अधिकारी, अस्मिता थापा, लगायतले जिज्ञासा राखेका थिए ।

युथ च्याम्पियन दीपा महतको सहजीकरणमा सम्पन्न भएको कार्यक्रममा ३५ जनाको सहभागिता रहेको थियो ।

May be an image of 7 people, including Deepa Mahat and text

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस