११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

तिलोत्तमामा अनलाइन प्रणालीबाट घर नक्शा पास



बुटवल ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले घरको नक्शा अनलाइन अर्थात् इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (ईभीपीएस) कम्युटर सफ्टवेयरबाट पास हुने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।

पेपरलेस नगरपालिकाको अवधारणाअनुसार अघि बढेको तिलोत्तमाले घर नक्शाको काम विद्युतीय नक्शा पास प्रणालीबाट गर्ने व्यवस्था मिलाएको हो ।

नगरपालिकामा राजस्व भुक्तानीलगायतका विभिन्न सेवा प्रवाहका काम अनलाइनबाट हुँदै आएका छन् । छिटोछरितो सेवा प्रवाहको साथै नगरवासीको सहजता र भवन निर्माण मापदण्डलाई थप प्रभावकारी बनाउन नक्शा पासलाई अनलाइन प्रणालीमा लगिएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए ।

रुपन्देहीमा सबैभन्दा बढी नयाँ घर थपिने तिलोत्तमामा हाल दैनिक चार वटा नयाँ नक्शा दर्ता हुँदा दुई वटा घरको नक्शा पास हुने गरेको छ ।

विद्युतीय प्रणालीबाट नक्शा पास गराउँदा सम्बन्धित व्यक्ति सेवा लिनको लागि लाइनमा बस्न र फाइल बोकेर दौडिरहन नपर्ने नगरपालिकाका नक्शा शाखा प्रमुख मनिष खनालले बताए । उनका अनुसार विद्युतीय प्रणालीबाट नक्शा पास गराउँदा कागजपत्रहरू सुरक्षित रहने तथा नगरलाई पनि तथ्यांक राख्न र जुनसुकै बेला खोज्न पनि सहज हुनेछ ।

नगरपालिकाले सम्बन्धित शाखाका कर्मचारीलाई तालिमको साथै कार्यालयमा सूचीकृत भएका इन्जिनियरिङ कन्सल्टेन्सीका सञ्चालकहरूसँग अभिमुखीकरण कार्यक्रम गरेर नक्शा पासलाई अनलाइन प्रणालीमा लैजान थालेको हो ।

यो प्रणालीअनुसार घरनक्शा दर्तादेखि सम्पन्न प्रमाणपत्र दिनेसम्मका सम्पूर्ण काम अनलाइनबाट हुने इन्जिनियर सन्तोष पाण्डेको भनाइ छ । यसले सेवा प्रवाहमा हुने ढिलासुस्ती र बहानाबाजीलाई निरुत्साहित गराउने नगरपालिकाको विश्वास छ ।

समयको माग, भवनसंहिता पालना र नक्शा बनाउने प्रक्रिया पारदर्शी गराउँदै तिलोत्तमालाई स्मार्ट शहरको रुपमा विकास गर्ने योजना अन्र्तगत विकास साझेदार निकायको सहयोगमा अनलाइन नक्शा पास प्रणाली थालिएको नगर प्रमुख घिमिरेको भनाइ छ ।

प्रकाशित मिति : ६ भाद्र २०७८ आइतबार ००:००  ५ : १३ बजे